चीसो कथा
अलिकति बाँच्न भनेर
जन्मिएको मानिस
अलिअलि गर्दै मर्दै जान्छ
पुरिने गरी पूरा नमर्दा सम्म !
अलिकती मर्छ-
‘कमाइनस्’ भन्ने
परिवारका लान्छानाहरु बाट
अलिकती मर्छ-
‘फलानो जस्तै भइनस्’ भन्ने
प्रेयसीका चाहनाहरु बाट !
अलिकति मर्छ-
‘दिन्छु’ भनेर लुटेका
साथीभाइका सापटीहरु बाट
अलिकति मर्छ-
‘गर्यो,रमायो,खायो’ भन्ने
आफन्तका छटपटीहरु बाट !
थोरै मर्छ- सन्तानका अटेरीहरु बाट
धेरै मर्छ- आफ्नै मनका अँधेरीहरु बाट !
कोही आउछ र क्रान्तिको गीत गाउन सिकाउँछ
उसलाई लाग्छ- अब त नाच्ने दिन आउलान् कि !
अर्को आउँछ र मुक्तिको मुट्ठी कस्न सिकाउछ
उसले सोंच्छ- अब त बाँच्ने दिन आउलान् कि !
कलमले पो बचाउँछ कि भनेर
ऊ ठेलीका ठेली ज़िन्दगी लेख्छ
फेरि
बन्दूकले पो जीवन बदल्छ कि भनेर
ऊ बम पड्काउछ, बारूद उडाउँछ !
कहिले विज्ञानको हाँगो समाएर
बैतरनी तर्न खोल्छ !
कहिले धर्मको काखमा बसेर
आनन्द खोज्न निस्किन्छ !
ठगिएको छु भन्ने थाहा पाउँछ
लुटिएको छु भन्ने चाल पाउँछ
ऊ मुर्दा जस्तो बनेर सहन्छ सबथोक
किनकि
उसलाई जीवन जस्तै जीवन बाँच्नुछ एकपटक !
शरीरमा रोग पस्छ
ऊ दबाइ खाएर दबाउँछ !
तक़दीरमा शोक पस्छ
ऊ रेलिमाई गाएर भगाउँछ !
बिहान बाँच्न भनेर घर बट निस्केको ऊ
दिनभरी मरेर रातमा घर फिर्दा पनि
बत्ती बाल्न छोड्दैन !!
रातभरि सपनाहरुलाई मारेर
आफ्नै लाशमा लतपतिएको ऊ
बिहान सबेरै उठी
सूर्यलाई धूप हाल्न छोड्दैन !!
कैयौं सासहरुलाई साथ दियो उसले
तर
कोही पनि बाँचे जसरी बाँचेको देखेन
कैयौं लाशहरुलाई हात दियो उसले
तर
कोही पनि बाँचुन्जेल नमरेको देखेन !!
अचेल ऊ
आफ्नै मृत्युको कथा लेखिरहेछ !
एकचित्त भई लेखिरहेछ !
कसैलाई नसुनी लेखिरहेछ !
कसै संग नबोली लेखिरहेछ !
‘ढोका खोल्नूस् न, चिया चीसो भयो’
‘ए हजुर, बाबा, बाबु,!’
लगातार आवाज आइरहेछन्-
ऊ सुन्दैन
उसलाई सुन्नै मन छैन
किनकि
ऊ कथा लेखिरहेछ
ऊ चीसो कथा लेखिरहेछ
ऊ चिसिएर कथा लेखिरहेछ !
ढिलो गरी ढोका खुल्छ !
एक कप चीसो चिया
चिसै कथा माथि पोखिन्छ !
‘उस्तै उस्तैको मिलन एकदिन जरुर हुन्छ’
लेख्दैछ ऊ-
मृत्यु कसरी यति सुन्दर हुन्छ ?!
✍️ हेमन्त गिरी
Негізгі бет कविता ।। चिसो कथा ।। Kabita ।। Chiso Katha ।। Ramesh Prasad Bhandari ।। Hemanta Giri ।। Nepali Poem
Пікірлер