धुलिखेल अस्पताल परिवारका आत्मीय सदस्यहरू:
हरेक वर्ष दशैँ, तिहार र छठ जस्ता हाम्रा चाडपर्वहरू नयाँ ऊर्जा, आशा र खुसीहरू लिएर आउँछन् । हाम्रा लागि यो पुराना तिता-मिठा र सानातिना कमजोरीहरू बिर्सिँदै र एकअर्कालाई क्षमा गर्दै नयाँ दृष्टिकोण अंगाल्ने समय पनि हो ।
वास्तवमा, धुलिखेल अस्पतालमा पनि यी पर्वहरूलाई हर्सोल्लासका साथ मनाउने आधारहरू छन् । मूलत: हामी विविध कार्यक्रमहरू आयोजना गर्दै, आफ्ना अनुभव र कथाहरू आदानप्रदान गर्दै र विभिन्न क्षेत्रका मानिसहरूलाई प्रेरित गर्दै यो संस्थाको २५ औँ वार्षिकोत्वसव मनाइरहेका छौँ ।
हामीले कोभिड-१९ का चुनौतीहरूलाई परास्त गरी नयाँ गति र सुदृढीकरणका साथ यो वर्ष शुरुवात गरेका छौँ । संस्थाका कठीनतम् समयहरूमा पनि हाम्रो कुनै सहकर्मीले रोजगारी गुमाउनु परेको छैन । यसमा हामी सबैलाई गर्व छ । हामीले आफूसँग भएका श्रोत र साधनकै बलमा सुख-दु:ख बाँड्ने र एक-अर्काको साथ दिने परम्परालाई कायम राख्यौँ ।
अस्पतालको सेवा बिस्तार त छँदैछ, यसबीचमा हामीले उप-विशिष्टता (सब-स्पेशालिटी) का नयाँ तालीमहरूको शुरूवात, नयाँ निर्माण कार्यहरूको थालनी, नयाँ उपकरणको स्थापना र ग्रामीण भेगमा नयाँ कार्यक्रमहरूको विस्तार गर्यौँ । तालीम कार्यक्रमहरूको वृद्धि त हाम्रो लागि अपूर्व नै रह्यो । टाढा-टाढाका सहभागीहरू हाम्रा कार्यक्रमहरूबाट लाभान्वित भए । हाम्रा अनुसन्धान परियोजनाहरूको बिस्तार पनि उल्लेख्य रह्यो ।
हामीले सरकार र समुदाय साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्राज्ञिक क्षेत्र, संघ-सँस्था र संस्थानहरूसँगको साझेदारी र सहकार्यको हाम्रओ परम्परालाई पनि पुनर्जीवन र निरन्तरता दियौँ । हाम्रा सहकर्मीहरू धुलिखेल अस्पतालको पहिचानलाई गर्वसाथ अंगाल्दै नयाँ सहकार्यहरूको विस्तारमा विभिन्न अन्तर्राष्ट्रिय भ्रमणहरूमा निस्किने क्रम शुरू भएको छ । साथै, हाम्रो ‘सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा’ को दिव्य-दर्शनमा सहभागी हुन चाहने विदेशी मित्रहरूको आगमन पनि यस वर्ष अपूर्व रहेको छ ।
एउटा वृहत परिवारको रूपमा हामी बीचको सम्बन्धलाई अझ मजबुत बनाउन आसन्न पर्वहरू उल्लासका साथ मनाऔँ । आजसम्म हामीले संगालेको आत्मीय बन्धनको भावनालाई कायम राख्दै हरेक दिन जीवनहरूलाई छुने र बदल्ने कार्यमा हामी समर्पित रहनेछौँ ।
निसन्देह, धुलिखेल अस्पतालमा हामी सेवाप्रति दत्तचित्त रहनेछौँ ।
हार्दि शुभकामना !
डा. रामकण्ठ माकजू श्रेष्ठ
धुलिखेल अस्पताल
आश्विन २०७९
Негізгі бет शुभ बिजया दशमी, दिपावाली तथा छठ पर्ब २०७९ को शुभकामना सन्देश -डा. राम कण्ठ माकाजु श्रेष्ठ
Пікірлер: 3